राजेश विद्रोहीको कविता : आतंक

राजेश विद्रोही
किन हो किन अचेल मनमा डर छ ।
डरसँगै मनमा भय, आतंक र त्रास छ ।।

अचेल घरधुरीमा काग कराएपछि डर लाग्छ
जबकी घरधुरीमा काग कराएपछि
घरमा नयाँ पाहुना आगमनको संकेत मानिन्छ
तर, किन हो किन अचेल मलाई
काग कराएपछि मनमा डर लाग्छ
आफ्नो मान्छे भन्दा अरु मान्छेको भर लाग्छ ।

किन हो किन अचेल मनमा डर छ ।
डरसँगै मनमा भय, आतंक र त्रास छ ।।

रातमा कुकुर रोएपछि पनि मलाई अचेल डर लाग्छ
किनभने रातमा कुकुर रोएपछि अशुभ संकेत मानिन्छ
त्यसैले, किन हो किन अचेल रातमा कुकुर भुके पनि
मलाई मनमा डर लाग्छ
आफ्नो मान्छे भन्दा अरुनै मान्छेको भर लाग्छ ।

किन हो किन अचेल मनमा डर छ ।
डरसँगै मनमा भय, आतंक र त्रास छ ।।

हिँड्दा हिँड्दै बिरालोले बाटो काट्दा पनि
अचेल मलाई मनमा डर लाग्छ
किनभने बिरालोले बाटो काटेको अशुभ संकेत मानिन्छ
त्यसैले, किन हो किन अचेल बिरालोले बाटो काटेपछि
मलाई मनमा डर लाग्छ
आफ्नो मान्छे भन्दा अरुनै मान्छेकै भर लाग्छ ।

किन हो किन अचेल मनमा डर छ ।
डरसँगै मनमा भय, आतंक र त्रास छ ।।

जबकी सानैदेखि यो कुराको भ्रमबाट बन्चित थिएँ
यो विषयमा समाजिक जानकार मात्र थिएँ
तर, प्रभावित भन्ने कहिले पनि थिएन
त्यसैले, किन हो किन अचेल मनमा त्यही कुराको डर छ
आफ्नो मान्छे भन्दा अरुनै मान्छेको भर छ
यसरी अचेल मेरो मनमा डर,भय, आतंक र त्रास छ ।

किन हो किन अचेल मनमा डर छ ।
डरसँगै मनमा भय, आतंक र त्रास छ ।।

छुतको कठघरामा अछुतको बयान

गंगा श्रेष्ठ मानव
ए छुतहरू !
हामी कसरी अछुत भयौं ?
तिमीहरू कसरी छुत भयौ ??
भन, तिम्रो शरीरमा भएको कुन अंग छैन हामीसँग ?
सोच्ने मस्तिष्क छैन कि माया गर्ने मुटु ?
हेर्ने आँखा छैन कि गाउने भाखा ??
प्रामाणित गर ए स्वघोषित छुतहरू !
तिम्रो शरीरमा भन्दा हाम्रो शरीरमा
एउटा मात्रै अंग कम रहेछ भने
एक टुक्रा मात्रै हड्डी कम भएछ भने
तिम्रो शरीरमा दौडने रगतको रंग
र, हाम्रो शरीरमा दौडने रगतको रंग
अलगअलग प्रमाणित भएछ भने
स्वीकार गरौंला हामी पनि तिम्रो अछुतको व्यबहार ।

ए स्वघोषित छुतहरू !
तिमीले दावी गरेजस्तो
तिम्रा मनु बाजेले भनेजस्तो
के तिमी साँच्चै मुखबाटै जन्मेका हौ त ?
बाहु र जाँघबाटै जन्मेका हौ त ??
अनि शूद्र पाउबाटै पैदा भएको हो त ???
तिमीलाई हाम्रो चुनौती भयो
पाठेघरविना-

तिमीले मुखबाट एउटा ब्राह्मण जन्माएर देखाऊ
बाहु र जाँघबाट क्षत्री र वैश्य जन्माएर देखाऊ
पाउबाट एउटा अछुत शूद्र पैदा गरेर देखाऊ
होइन भने ए छुतहरू !
तिम्रो र हाम्रो पुर्खा एउटै थियो भनेर स्वीकार गर
हामी सबै होमोसेपियन्सका सन्तान हौं भनेर स्वीकार गर
आजको जातपात/आजको छुवाछूत
टाठाबाठा शासकहरूको षड्यन्त्र हो भनेर स्वीकार गर ।

ए स्वघोषित छुत शासकहरू !
यो देश बनाउँदा हाम्रो पुर्खाको योगदान कम रहेछ भने
इतिहासदेखि वर्तमानसम्म यो माटोको कणकणमा
तिम्रोभन्दा हाम्रो रगतपसिना कम बगेको रहेछ भने
यो देशको कला, संस्कृति र समाज निर्माणमा
तिम्रोभन्दा हाम्रो श्रम र सीप कम लागेको रहेछ भने
तिमीले मन्दिरमा प्रवेश नदिँदा हामी बाहिरै बसौंला
तिमीले घरमा कोठा नदिँदा हामी पाटीमै बास बसौंला
तिमीले कुकुरसँगै सुताउँदा हामी सडकमै रात काटौंला ।

होइन भने ए स्वघोषित सभ्य छुतहरू !
अब हामी हाम्रा पुर्खाले जस्तो
छातीभित्र लाभा उमालेर बाहिर हिमाल बाँच्नेछैनौं
निभेको अगेनोसँग भोक साटेर अघाएको नाटक गर्नेछैनौं
प्रत्येक पाइलामा अपमानको आगो निलेर
बाहिर ठिकठाक देखिने छैनौं
हो, अब हामीलाई,
कुकुरभन्दा तल्लो अछुतको जीवन स्वीकार्य छैन
ए स्वघोषित छुतहरू !

हामी पनि तिमीजस्तै मान्छे हौं
हामी पनि तिमीजस्तै मान्छे बाँच्न चाहान्छौं
शदीयौं भयो तिम्रो अत्याचार सहेको
तर अब तिम्राविरुद्ध हामी अन्तिम बिद्रोह गर्नेछौं
पुर्दा पुर्दा पृथ्वीको पीँधमै पुर्‍याऊ हामीलाई
फेरि पनि हामी ज्वालामुखी विस्फोट भई छाड्नेछौं ।

जातमा के छ ?

राजेश विद्रोही
उनी केही दिनसम्म राम्रै लागेकी थिइन्
सबथोक चलेको थियो
आमा छोरी झैं सम्बन्ध थियो
सुन्दर – सुन्दर र हिस्स परेकी रुपा
रंग रुपमा पनि हजारौंमा एक थिइन्
तर, जब जातको सवाल अगाडि आयो
त्यसपछि सारा सुन्दरता पानी-पानी भयो
उसको सुन्दर बोली र व्यवहार सबै खरानी भयो
अर्थात् जातकै कारण भएभरको सम्बन्ध क्षणभरमै उड्यो
त्यसपछि भनिदियो जातको कारण
मेरो मुटु चुँडियो, तिमी अजर अमर भयौं ।

के छ त्यस्तो जातमा ?
जसले सारा सम्बन्ध तोड्न सक्छन्
तर, जोड्न भने केही सक्दैन
अमानवीय सम्प्रदायकता बाहेक,
परम्परामा के छ त्यस्तो शक्ति ?
जसले सिंगो मानव समाजलाई बनाएको छ भक्ति
अनि यसकै पछि कुदेको सारा शक्ति
जहाँ मानवता छैन्, छ त केवल पशुवत व्यवहार
मान्छे – मान्छे भएर बाँच्न पाएको छैन् ।

के छ यस्तो जातमा ?
जसले पटकपटक रुपा सुनारहरु जन्माई रहन्छन्
अनि नवराजहरुलाई भेरीमा बगाई रहन्छन्
सम्भु सदा र विजय रामहरुलाई मारिरहन्छन्
मुटुमा हात राखेर एकपटक समिक्षा गरौं त
के रुपा, नवराज, शम्भु र विजहरु मानव होइनन् ?
यो घर्तीमा यिनीहरूलाई बाँच्ने अधिकार छैन् ?
अनि मनभरी प्रेमको अँगालोमा बेरिने रहर छैन् ?
किन उनीहरुको दिनदहाडै प्रेमको हत्या हुन्छ ?
अनि किन उनीहरुको रहरहरुलाई भेरीमा बगाईन्छन् ?

के छ यस्तो जातमा ?
जसले आफ्नो जातको विरोध पनि गर्न नपाउने
आफ्नो जातको समर्थनमा युगौंयुग बाँच्नुपर्ने
विभेद र अत्याचारको जातोमा पिल्सि राख्नुपर्ने
न त बोल्न, न त लड्ने, न त केही गर्न पाउने
मानवले नै मानवको सबै थोक खोसिएको
तर, जानवरहरु मान्छे भन्दा पनि उच्च सम्मान पाएको
के छ त्यस्तो जातमा हामीले तोड्न नपाउने
अनि नयाँ मानवीय जात जोड्न नपाउने ?
सुन्दर समाज रचना गर्न नपाउने ?

(२०७८/३/१० खड्क नपा ३ गरुराहा सप्तरी )

प्रदेश २ सरकारले स्वास्थ्य प्रतिष्ठानको रिजल्टमा गरेको विभेद विरुद्ध जागरण अभियानको विरोध

गंगा सदा, असार ६, कल्याणपुर सप्तरी । मुलुकमा यतिबेला राजनीतिक नखरा छ । नखरासँगै लफडा बढेको छ । जसको चौतर्फी मारमा छन् दलित तथा विपन्न मजदुर समुदाय । महामारीको समयमा यसरी राजनीतिक माहौल राजनीतिक दलले सृजना गर्नु भनेको दुखद छ । महामारीमा दलित, मजदुर तथा विपन्न भोकभोकै मरिरहेका छन् भने यता राजनीतिक रुपमा अर्को अधिकारको महामारीको सुरुवात राजनीतिक दलले गरेका छन् । तीनै तहको सरकारमा यतिबेला दलित समुदायका एकजना मन्त्री न त संघीय सरकारमा छ न त छ सातवटै प्रदेश सरकारमा । अर्को प्रदेश २ सरकारले स्वास्थ्य प्रतिष्ठानले मेडिकल क्षेत्रमा गरेको भ्याकेन्सीमा दलित तथा गरिब विपन्न समुदायलाई प्राथमिकता नदिएर आफ्ना जाती र आसेपासेलाई पास गरेर रोजगार लगाएको विरुद्धमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले विरोध सभा गरेका छन् ।

सप्तरीको कल्याणपुरमा आयोजित विरोध सभामा अभियानका जिल्ला संयोजक प्रथमलाल रामले सम्बोधनको क्रममा भने, महामारीको समय छ । देशको राजनीतिक माहोल फेरिएको छ । यो दुखद घडीमा राजनीतिक दलको कार्य निन्दनीय छ । पटकपटकको संसद विघटन र सरकार निर्माणले देश अन्यौलमा फसेको छ । त्यस्तो प्रदेश २ सरकारले पनि एकजना पनि दलितलाई मन्त्री बनाएन । अर्को प्रेदेश २ सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको लागि निकालेको विज्ञापन र त्यसपछि निकालेको रिजल्टमा दलित समुदायलाई ठूलो विभेद र छुवाछूत गरेको पनि आरोप लगाए । उनले भने जुन समुदायलाई रोजगारको खाँचो छ उनीहरुलाई चलखेल गरेर फेल गरेको छ । जुन समुदायलाई रोजगार र भोकको अभाव छैन् ति समुदायका मानिसहरूको नाम निकाले प्रदेश २ सरकारले पनि ठूलो जातीवादी प्रदर्शन गरेको समेत बताए । महामारी र राजनीतिक संकटको नाममा दलित समुदायमाथि राज्य र राजनीतिक दल मिलेर दमन, विभेद र शोषण गरिरहेको रामले भने ।

त्यस्तै सम्बोधनको क्रममा बद्री सदाले दलितमाथि महामारीसँगै जन्मेको राजनीतिक महामारीलाई दलित समुदायको जीवन पुरै धरापमा पारेको आरोप लगाएका छन् । त्यस्तै अर्का वक्तव्य चन्द्रनारायण रामलाल, महामारीमा भोकभोकै मर्न लागेको दलितलाई दोस्रो चरणको लकडाउनमा पनि दलित अत्याचार न रोकिएको भन्दै रोस व्यक्त गरे । कार्यक्रम अभियानका जिल्ला संयोजक तथा संयुक्त दलित संघर्ष समितिका जिल्ला अध्यक्ष समेत रहेका प्रथमलाल रामले अध्यक्षता गरेका थिए । वर्तमान नवगठित संघ र प्रदेश सरकारमा एकजना पनि दलित समुदायलाई मुख्य मन्त्रालय दिएको छैन् ।

यात्रा…..

छोटो जीवन, लामो यात्रा
पुगौं गन्तव्य कसरी ?
बाटोभरी काँडा छ
पन्छाउँ कसरी ?

जता गयौं खाल्डै खाडल
बचौं कसरी ?
स्वार्थीहरु धेरै छन्
सम्झाउँ कसरी ?

कि त पशु हुनुपर्ने
कि त कुनै चरा
कसैले दावी गर्न सक्ने
आकाशमा उडेर
आफू सुरक्षित हुन सक्ने !

संघर्षहरु अप्ठ्यारो छ
जुधौं कसरी ?
जीवनको गोरेटो कोर्दै
गन्तव्यसम्म पुगौं कसरी ?

सरकारको विरोधमा ´रादमुजा`अभियानले गरे विरोध

कल्याणपुर सप्तरी । नवगठित सरकारमा दलित समुदायलाई मन्त्री मण्डलमा सहभागीता नगराएको भन्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानले विरोध गरेका छन् ।

सप्तरीको कल्याणपुरमा आयोजित विरोध सभामा अभियानका जिल्ला संयोजक प्रथमलाल रामले सम्बोधनको क्रममा भने, महामारीको समय छ । देशको राजनीतिक माहोल फेरिएको छ । यो दुखद घडीमा राजनीतिक दलको कार्य निन्दनीय छ । पटकपटकको संसद विघटन र सरकार निर्माणले देश अन्यौलमा फसेको छ । महामारी र राजनीतिक संकटको नाममा दलित समुदायमाथि राज्य र राजनीतिक दल मिलेर दमन, विभेद र शोषण गरिरहेको रामले भने ।

त्यस्तै सम्बोधनको क्रममा बद्री सदाले दलितमाथि महामारीसँगै जन्मेको राजनीतिक महामारीलाई दलित समुदायको जीवन पुरै धरापमा पारेको आरोप लगाएका छन् । त्यस्तै अर्का वक्तव्य चन्द्रनारायण रामलाल, महामारीमा भोकभोकै मर्न लागेको दलितलाई दोस्रो चरणको लकडाउनमा पनि दलित अत्याचार न रोकिएको भन्दै रोस व्यक्त गरे । कार्यक्रम अभियानका जिल्ला संयोजक तथा संयुक्त दलित संघर्ष समितिका जिल्ला अध्यक्ष समेत रहेका प्रथमलाल रामले अध्यक्षता गरेका थिए । वर्तमान नवगठित संघ र प्रदेश सरकारमा एकजना पनि दलित समुदायलाई मुख्य मन्त्रालय दिएको छैन् ।