जागरण अभियानको रौतहट जिल्लाको कार्यसमिति बैठक सम्पन्न

रौतहट । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको रौतहट जिल्ला कमिटीको ब‌ैठक सम्पन्न भएको छ । रौतहटको गरुडा नगरपालिका ४, मा आयोजित कार्यक्रमको जिल्ला संयोजक सोनेलाल रामले अध्यक्षता गरेका थिए भने कार्यक्रममा जिल्ला र स्थानीय तहका सम्पूर्ण दलित अगुवा नेतृत्वहरुको उपस्थिति रहेका थिए ।

मंगलबार आयोजित कार्यक्रममा परोहा नगरपालिका ७, मा दलितमाथि भएको कुटपिट तथा अभ्रद व्यवहारको बारेमा समेत छलफल भएको थियो । बैठकले घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कार्वाहीको लागि पहल गर्ने तथा पीडित परिवारलाई न्यायको प्रत्याभूति गराउने प्रतिबद्धता गरेका छन् ।

यस्तै बैठकले आउँदो स्थानीय तहको निर्वाचनमा रौतहटक‍ १८ स्थानीय तहमा दलित समुदायबाट उमेदवारी दिने र कमजोर अवस्थामा रहेको तहमा मजबुत राजनीतिक दलसँग सहकार्यगरी स्थानीय तहमा देखिएका दलित मुद्दालाई सम्बोधन गर्नेलाई मतदानमा सहयोग गरी चुनावको सहि दुरुपयोग गर्ने विषयमा समेत छलफल भएको जागरणका जिल्ला संयोजक सोनेलाल रामले जानकारी दिनुभएको छ ।

जसपालाई जमिनदार र जातिवादबाट माथि उठाउनुपर्छ

यतिबेला दलहरुबीचको विभाजन र MCC बाट पुरै देश आक्रान्त छ भने दोस्रो कुरा सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेको छ । यस्तैबेला जनता समाजवादी पार्टीमा पार्टी कस्तो बनाउने भने बारेमा डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव बीच तिक्तता सुरु भएको छ । यसै विषयमा केन्द्रित रहेर जसपाका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीसँग हामी नेपाल टडकमले लिएको अन्तर्वार्ता सार संक्षिप्त प्रस्तुत गरिएको छ ।

जसपाभित्रको खास विवाद के हो ?
पहिलो कुरा यो बुझ्नुस् कि जसपाभित्र कुनै विवाद छैन् । दोस्रो कुरा जसलाई मान्छेहरुले विवाद भनिदैछ त्यो भनेको पार्टीभित्रको दुईलाईन संघर्ष हो । त्यो हरेक पार्टीमा छ । तर हाम्रो पार्टीभित्र अलिक फरक छ । किनभने जुन अस्तित्वकासाथ पार्टी गठन भयो । त्यो अस्तित्व कायम गर्नु पार्टीको दायित्व हो । वैकल्पिक र समावेशीताको नारा दिएर जनतालाई ठग्नु हुँदैन । अरु पार्टी जस्तै एकथान अर्को पार्टी नेपालमा थप्नु जरुरी छैन् । केही नयाँ र युगसापेक्ष राजनीतिक मानक स्थापित गर्न जसपा बनेको हो । नेपाली मौलिकतालाई जोड्ने वैकल्पिक राजनीतिक दल र शक्ति हो । त्यसैले यहाँ देखिएको विवाद सैद्धान्तिक र वैचारिक हो । जो स्वभाविक छ ।

यो कस्तो खालको सैद्धान्तिक र वैचारिक विवाद हो ?
मैले अधिनै भनिसके । पार्टी कस्तो बनाउने भने कुराको बहस हो । जे कारणले जनता समाजवादी पार्टी बन्यो त्यो कारणलाई स्थापित गर्नुपर्ने छ । पार्टीको निति, सिद्धान्त र पद्धतिनुसार नेतृत्वहरु हिँड्नुपर्यो । व्यक्तिवादी र जातिवादी अहमले जसपा बन्दैन । त्योभन्दा माथि उठ्नुपर्छ । पार्टीको विधानमा रहेको समावेशीतालाई स्वीकारेर जानुपर्यो । बहु पदीय र बहु अध्यक्षीय प्रणालीलाई आत्मसात गरेर मुलुकको विविधतालाई सम्बोधन गर्ने खालको मौलिक र वैकल्पिक राजनीतिक दलको मानक स्थापित गर्नुपर्यो ।

उपेन्द्र यादवले बहु अध्यक्षीय प्रणाली असफल भइसक्यो भन्दै हिडेको छ नी ?
त्यो ओहाँको भ्रम हो । शासकीय र नश्लीय मान्सिकताको उपज हो । बहु पदीय र बहु अध्यक्षीय प्रणालीको अभ्यास नै भएको छैन्, कसरी असफल भयो ? दुईदिनको मियो जोडेर हजारौं वर्षको समाजिक मनोविज्ञानलाई एकसाथमा जोड्न जादुको छडी घुमाए जस्तो हुन्छ ? यस्तै कारणहरुले गर्दा पार्टीले सामूहिक नेतृत्व पाउन सकेको छैन् । मनपर्दी र जमिनदार नेतृत्व पाएको जस्तो महसुुस हुन्छ । अध्यक्ष जस्तो गरिमामय जिम्मेवारमा बसेकालाई हामी जस्तो कार्यकर्ता विरोध गर्न विवशतामा उतार्नु हुन्छ । यो एउटा असल नेतृत्वको राजनीतिक चरित्र होइन ।

बहु अध्यक्षीय पार्टी निर्माणकै कारण नेकपा, जसपा, राप्रपाहरु फुटेको होइन र ?
बहु अध्यक्षीय पार्टी बनाएर पार्टीहरू फुटेको होइन । निहित स्वार्थका लागि उनीहरु जुटेका थिए । अरु कसैका लागि उनीहरुले पार्टी एकता गरेका थिए । मुलुकको मौलिकता र आवश्यकतालाई पुरा गर्न उनीहरु जुटेका थिएनन् । घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । बहु पदीय र बहु अध्यक्षीय प्रणालीलाई बदनाम मात्र गरेर उनीहरु हिँडे । त्यसलाई बाईनर बनाएर केही नेताहरु आफ्नो जात पाल्न र निहित स्वार्थ पुरा गर्न भ्रम छर्दै हिँडेका छन् । धेरैलाई हो हो जस्तो पनि लागेको छ । त्यो सत्य होइन ।

जसपा विवाद यस्तो अवस्थामा रहिरह्यो भने बाबुराम र उपेन्द्र कहिलेसम्म एक ठाउँमा रहिरह्ने छ ?
त्यो अहिले भन्न सकिदैन । सकभर एकै ठाउँमै बसेर जसपाको बैकल्पिक राजनीतिक सपना पुरा गर्ने हाम्रो प्रतिबद्धता हो । यसकै लागि पार्टी एकता भएको थियो । कसैलाई जमिनदार बनाउनलाई होइन । मिलेन भने अलग भएरपनि मुलुकको बाँकी नयाँ राजनीतिक कार्यभार पुरा गर्नेतिर हिँड्नुपर्छ जस्तो लागिरहेको छ ।

त्यसोभए तपाईहरुको विवाद मिलेन भने अलग पार्टी गठन गर्नु हुन्छ कि कुनै पार्टीमा गएर विलय बन्नु हुन्छ ?
निर्वाचनको मुखमा सकभर त्यस्तो नहोस् हाम्रो मान्यता हो । कुनै विकल्प नै रहेन भने हामी अरुतिर गएर बिलय हुने होइन । बाबुरामको राजनीतिक चरित्र त्यस्तो छैन् । बररु हामीले निरन्तरता दिएको बैकल्पिक राजनीतिलाई नै अगाडि बढाउने हो । अहिले जसपाको संगठन विहारी शैलीमा छ । यसलाई साच्चिकै जसपा बनाउन हामीले जसपाभित्र रहेको निश्चित शासक जात र जमिनदारहरुको अखडाबाट माथि उठाउने प्रयासमा छौं ।

उपेन्द्र यादव यतिबेला मधेसी दलितहरूको पक्षमा दरोसँग उभिएको छ नी ?
एकजना दलित मन्त्री बनाउन नसकेको, विभिन्न आयोगहरुमा दलित नेताहरुलाई ठाउँ नदिएका, पार्टीमै मधेसी दलितलाई नेतृत्व नस्वीकारेका, पार्टीभित्रै दलित शिल्पी दुईवटा संगठन खोलेर दलितलाई विभाजित गरेका, लकडाउनमा दलितमाथिको हत्या र आतंकमा नाम कमाएका तत्कालीन प्रदेश २ सरकार र पार्टीले नै एउटा विज्ञप्ति निकाल्न नसकेका, उल्टै अपराधीहरुले संरक्षण पाएका, अनि दलित असक्षम छ उनीहरुलाई नेतृत्वमा विकास गर्न एन्जियो लगाएर तालिम दिँदै हिँडेका सोचका उपेन्द्र यादव कसरी दलितको पक्षमा दरोसँग उभिएको देख्नु भएको छ ? यो वाहियात कुरा हो । उपेन्द्र यादव कहिले पनि दलितको हुन सकेन । हुन पनि सक्दैन । दलितको हुनलाई पहिला उहाँले आफ्नै जातभित्र दलितको पक्षमा संघर्ष गर्न सक्नु हुन्छ ?

हैन्, अहिले उहाँ त दलित कार्यक्रममा निकै खटिराख्नुभएको छैन् ? जताततै समाचार आइरहेको छ नि ?
मधेसमा उहाँले सबै समुदायलाई ठगेर भियाई सक्नुभएको छ । केही आफ्नै जातका लठैठहरुमा टिकी रहनुभएको छ । नयाँ शक्तिसँग पार्टी एकता नभएको भए उहाँको राजनीतिक भविष्य सकिसकेको थियो । अहिले पनि डाक्टर बाबुराम भट्टराई साइड लाग्यो भने ओलीको भन्दा ठूलो बेहाल उपेन्द्र यादवलाई हुन्छ । त्यो कुरा उहाँले बुझ्नु भएको छ । त्यसैले उहाँ यतिबेला मधेसमा जागिरहेका र संगठित भइरहेका दलित माहोल देखेर आतिएका पनि छन् । दलितलाई भाँड्न आफ्नो सक्रियता बढाएको मात्र हो । उहाँको सहयोगी केही दलितका ठेकेदारहरु पनि साथमा छन् । ललिपपको दास मनोविज्ञानमा भुलेका छन् । कुनै दिन चेत खुल्छ । अहिले मैले विरोध गरेको देखेर उनीहरूलाई निकै फाइदा भएको छ ।

मधेसमा उपेन्द्र यादवको प्रभाव राम्रो छ नी ? बाबुरामहरुले संगठन बनाउँदैन्, भाग खोज्न मात्र आएको आरोप छ त ?
झुठको खेती धेरै दिन टिक्दैन् । हामीले जसपालाई रातदिन खटेर हिमालदेखि पहाड र तराईसम्म स्थापित गर्न सफल भएका छौ । व्यक्तिगत हिसाबले हेर्ने हो भने यसमा उपेन्द्र यादवलाई फाइदा भएको छ, बाबुरामलाई घाटा चाहि भएको छ । बरु उहाँहरुको विगतको संगठन मधेस आन्दोलनको प्रभावमा बाँचिरहेको रहेछ । कुनै ठाउँमा एकजना नेता हिँडेपछि पुरै संगठन नै शून्यतामा पुग्दो रहेछ । च्याउ झै उम्रिएका पार्टीहरुको संगठन यस्तै हुन्छ । जमिनदारी जस्तो निर्देशन मात्र हुन्छ । मधेसमा भएभरको सामन्त जमिनदारलाई जम्मा पारेर मधेस राजनीति सुम्पिनु नै गलत थियो ।प्रभावको बलमा राजनीति कति दिन टिक्छ ? हामीले यसलाई सांगठनिक रुप देउँ भनेकै हो । उहाँहरुले मानेको छैन् । रह्यो भाग खोज्ने कुरा जो छ । यो जातिवादी र जमिनदारी भाषा हो । पार्टी एकता किन भयो ? हरेक कुरामा साझेदारी र सहभागीताको लागि होइन ? के उसको मतियार बन्न र नश्लीय जमिनदारी प्रथालाई निरन्तरता दिन पार्टी एकता भएको हो ? त्यो त पार्टीलाई सबै हिसाबले मजबुत पार्न र समावेशी मूलक बैकल्पिक राजनीतिक चरित्रको पार्टी निर्माण गर्नलाई हो नी ।