गंगा सदा, असार ६, कल्याणपुर सप्तरी । मुलुकमा यतिबेला राजनीतिक नखरा छ । नखरासँगै लफडा बढेको छ । जसको चौतर्फी मारमा छन् दलित तथा विपन्न मजदुर समुदाय । महामारीको समयमा यसरी राजनीतिक माहौल राजनीतिक दलले सृजना गर्नु भनेको दुखद छ । महामारीमा दलित, मजदुर तथा विपन्न भोकभोकै मरिरहेका छन् भने यता राजनीतिक रुपमा अर्को अधिकारको महामारीको सुरुवात राजनीतिक दलले गरेका छन् । तीनै तहको सरकारमा यतिबेला दलित समुदायका एकजना मन्त्री न त संघीय सरकारमा छ न त छ सातवटै प्रदेश सरकारमा । अर्को प्रदेश २ सरकारले स्वास्थ्य प्रतिष्ठानले मेडिकल क्षेत्रमा गरेको भ्याकेन्सीमा दलित तथा गरिब विपन्न समुदायलाई प्राथमिकता नदिएर आफ्ना जाती र आसेपासेलाई पास गरेर रोजगार लगाएको विरुद्धमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले विरोध सभा गरेका छन् ।

सप्तरीको कल्याणपुरमा आयोजित विरोध सभामा अभियानका जिल्ला संयोजक प्रथमलाल रामले सम्बोधनको क्रममा भने, महामारीको समय छ । देशको राजनीतिक माहोल फेरिएको छ । यो दुखद घडीमा राजनीतिक दलको कार्य निन्दनीय छ । पटकपटकको संसद विघटन र सरकार निर्माणले देश अन्यौलमा फसेको छ । त्यस्तो प्रदेश २ सरकारले पनि एकजना पनि दलितलाई मन्त्री बनाएन । अर्को प्रेदेश २ सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको लागि निकालेको विज्ञापन र त्यसपछि निकालेको रिजल्टमा दलित समुदायलाई ठूलो विभेद र छुवाछूत गरेको पनि आरोप लगाए । उनले भने जुन समुदायलाई रोजगारको खाँचो छ उनीहरुलाई चलखेल गरेर फेल गरेको छ । जुन समुदायलाई रोजगार र भोकको अभाव छैन् ति समुदायका मानिसहरूको नाम निकाले प्रदेश २ सरकारले पनि ठूलो जातीवादी प्रदर्शन गरेको समेत बताए । महामारी र राजनीतिक संकटको नाममा दलित समुदायमाथि राज्य र राजनीतिक दल मिलेर दमन, विभेद र शोषण गरिरहेको रामले भने ।

त्यस्तै सम्बोधनको क्रममा बद्री सदाले दलितमाथि महामारीसँगै जन्मेको राजनीतिक महामारीलाई दलित समुदायको जीवन पुरै धरापमा पारेको आरोप लगाएका छन् । त्यस्तै अर्का वक्तव्य चन्द्रनारायण रामलाल, महामारीमा भोकभोकै मर्न लागेको दलितलाई दोस्रो चरणको लकडाउनमा पनि दलित अत्याचार न रोकिएको भन्दै रोस व्यक्त गरे । कार्यक्रम अभियानका जिल्ला संयोजक तथा संयुक्त दलित संघर्ष समितिका जिल्ला अध्यक्ष समेत रहेका प्रथमलाल रामले अध्यक्षता गरेका थिए । वर्तमान नवगठित संघ र प्रदेश सरकारमा एकजना पनि दलित समुदायलाई मुख्य मन्त्रालय दिएको छैन् ।