डाक्टर बाबुराम भट्टराईले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएपछी भट्टराईले नयाँ दल दर्ता गराएका हुन् ।

असार २८,२९ गते डाक्टर बाबुराम भट्टराई समूहले काठमाडौंमा केन्द्रीय समितिको बैठक बसेर विधिवत् ढंगले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो भने उपेन्द्र यादव पक्षकाले २९,३० गते बिरगंजमा केन्द्रीय समितिको बैठक बसेर भट्टराई लगायत केही नेतालाई निष्काशन गरेका थिए ।

निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए । ‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।