गंगा श्रेष्ठ मानव
ए छुतहरू !
हामी कसरी अछुत भयौं ?
तिमीहरू कसरी छुत भयौ ??
भन, तिम्रो शरीरमा भएको कुन अंग छैन हामीसँग ?
सोच्ने मस्तिष्क छैन कि माया गर्ने मुटु ?
हेर्ने आँखा छैन कि गाउने भाखा ??
प्रामाणित गर ए स्वघोषित छुतहरू !
तिम्रो शरीरमा भन्दा हाम्रो शरीरमा
एउटा मात्रै अंग कम रहेछ भने
एक टुक्रा मात्रै हड्डी कम भएछ भने
तिम्रो शरीरमा दौडने रगतको रंग
र, हाम्रो शरीरमा दौडने रगतको रंग
अलगअलग प्रमाणित भएछ भने
स्वीकार गरौंला हामी पनि तिम्रो अछुतको व्यबहार ।

ए स्वघोषित छुतहरू !
तिमीले दावी गरेजस्तो
तिम्रा मनु बाजेले भनेजस्तो
के तिमी साँच्चै मुखबाटै जन्मेका हौ त ?
बाहु र जाँघबाटै जन्मेका हौ त ??
अनि शूद्र पाउबाटै पैदा भएको हो त ???
तिमीलाई हाम्रो चुनौती भयो
पाठेघरविना-

तिमीले मुखबाट एउटा ब्राह्मण जन्माएर देखाऊ
बाहु र जाँघबाट क्षत्री र वैश्य जन्माएर देखाऊ
पाउबाट एउटा अछुत शूद्र पैदा गरेर देखाऊ
होइन भने ए छुतहरू !
तिम्रो र हाम्रो पुर्खा एउटै थियो भनेर स्वीकार गर
हामी सबै होमोसेपियन्सका सन्तान हौं भनेर स्वीकार गर
आजको जातपात/आजको छुवाछूत
टाठाबाठा शासकहरूको षड्यन्त्र हो भनेर स्वीकार गर ।

ए स्वघोषित छुत शासकहरू !
यो देश बनाउँदा हाम्रो पुर्खाको योगदान कम रहेछ भने
इतिहासदेखि वर्तमानसम्म यो माटोको कणकणमा
तिम्रोभन्दा हाम्रो रगतपसिना कम बगेको रहेछ भने
यो देशको कला, संस्कृति र समाज निर्माणमा
तिम्रोभन्दा हाम्रो श्रम र सीप कम लागेको रहेछ भने
तिमीले मन्दिरमा प्रवेश नदिँदा हामी बाहिरै बसौंला
तिमीले घरमा कोठा नदिँदा हामी पाटीमै बास बसौंला
तिमीले कुकुरसँगै सुताउँदा हामी सडकमै रात काटौंला ।

होइन भने ए स्वघोषित सभ्य छुतहरू !
अब हामी हाम्रा पुर्खाले जस्तो
छातीभित्र लाभा उमालेर बाहिर हिमाल बाँच्नेछैनौं
निभेको अगेनोसँग भोक साटेर अघाएको नाटक गर्नेछैनौं
प्रत्येक पाइलामा अपमानको आगो निलेर
बाहिर ठिकठाक देखिने छैनौं
हो, अब हामीलाई,
कुकुरभन्दा तल्लो अछुतको जीवन स्वीकार्य छैन
ए स्वघोषित छुतहरू !

हामी पनि तिमीजस्तै मान्छे हौं
हामी पनि तिमीजस्तै मान्छे बाँच्न चाहान्छौं
शदीयौं भयो तिम्रो अत्याचार सहेको
तर अब तिम्राविरुद्ध हामी अन्तिम बिद्रोह गर्नेछौं
पुर्दा पुर्दा पृथ्वीको पीँधमै पुर्‍याऊ हामीलाई
फेरि पनि हामी ज्वालामुखी विस्फोट भई छाड्नेछौं ।