राजेश विद्रोही
उनी केही दिनसम्म राम्रै लागेकी थिइन्
सबथोक चलेको थियो
आमा छोरी झैं सम्बन्ध थियो
सुन्दर – सुन्दर र हिस्स परेकी रुपा
रंग रुपमा पनि हजारौंमा एक थिइन्
तर, जब जातको सवाल अगाडि आयो
त्यसपछि सारा सुन्दरता पानी-पानी भयो
उसको सुन्दर बोली र व्यवहार सबै खरानी भयो
अर्थात् जातकै कारण भएभरको सम्बन्ध क्षणभरमै उड्यो
त्यसपछि भनिदियो जातको कारण
मेरो मुटु चुँडियो, तिमी अजर अमर भयौं ।

के छ त्यस्तो जातमा ?
जसले सारा सम्बन्ध तोड्न सक्छन्
तर, जोड्न भने केही सक्दैन
अमानवीय सम्प्रदायकता बाहेक,
परम्परामा के छ त्यस्तो शक्ति ?
जसले सिंगो मानव समाजलाई बनाएको छ भक्ति
अनि यसकै पछि कुदेको सारा शक्ति
जहाँ मानवता छैन्, छ त केवल पशुवत व्यवहार
मान्छे – मान्छे भएर बाँच्न पाएको छैन् ।

के छ यस्तो जातमा ?
जसले पटकपटक रुपा सुनारहरु जन्माई रहन्छन्
अनि नवराजहरुलाई भेरीमा बगाई रहन्छन्
सम्भु सदा र विजय रामहरुलाई मारिरहन्छन्
मुटुमा हात राखेर एकपटक समिक्षा गरौं त
के रुपा, नवराज, शम्भु र विजहरु मानव होइनन् ?
यो घर्तीमा यिनीहरूलाई बाँच्ने अधिकार छैन् ?
अनि मनभरी प्रेमको अँगालोमा बेरिने रहर छैन् ?
किन उनीहरुको दिनदहाडै प्रेमको हत्या हुन्छ ?
अनि किन उनीहरुको रहरहरुलाई भेरीमा बगाईन्छन् ?

के छ यस्तो जातमा ?
जसले आफ्नो जातको विरोध पनि गर्न नपाउने
आफ्नो जातको समर्थनमा युगौंयुग बाँच्नुपर्ने
विभेद र अत्याचारको जातोमा पिल्सि राख्नुपर्ने
न त बोल्न, न त लड्ने, न त केही गर्न पाउने
मानवले नै मानवको सबै थोक खोसिएको
तर, जानवरहरु मान्छे भन्दा पनि उच्च सम्मान पाएको
के छ त्यस्तो जातमा हामीले तोड्न नपाउने
अनि नयाँ मानवीय जात जोड्न नपाउने ?
सुन्दर समाज रचना गर्न नपाउने ?

(२०७८/३/१० खड्क नपा ३ गरुराहा सप्तरी )