भारतमा स्थिति भयावह : एकैदिन ३ लाख ७९ हजार बढीमा कोरोना संक्रमण, ३६ सय ४७ को मृत्यु

काठमाडौँ– छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ७९ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ हजार ६४७ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

नयाँ थपिएकासहित भारतमा संक्रमितहरुको कुल संख्या १ करोड ८३ लाख ६८ हजार नाघेकोे छ । भारतमा संक्रमणमुक्त हुनेको संख्या १ करोड ५० लाख ७८ हजार २ सय नाघेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार बढी रहेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार ८१२ पुगेको छ ।

यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितकोसंख्या १८ करोड ३६ लाख ८ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३१ लाख ६३ हजार ३९६ संक्रमितले ज्यान गुमाएका छन् ।

विश्वमा संक्रमितमध्ये १२ करोड ७७ लाख ३१ हजार बढीले कोरोनाको संक्रमण जितेका छन् । अहिले विश्वमा १ करोड ९३ लाख १४ हजार बढी सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमितमध्ये १ लाख १० हजार बढीका स्वास्थ्य अवस्था गम्भीर छ । कोरोनाबाट बढी प्रभाबित हुने मुलुकको सूचीमा अमेरीका पहिलो स्थानमा छ । भारत दोश्रो र ब्राजिल तेश्रो स्थानमा छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ– काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो । निर्णयअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।

यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।

गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि निषेधाज्ञासम्बन्धी आदेश जारी गरिएको थियो भने आजदेखि कार्यान्वयनमा आएको हो। काठमाडौ, ललितपुर र भक्तपुरका सीडीओहरुले छुट्टाछुट्टै सूचना निकालेर निषेधाज्ञासम्बनधी आदेश जारी गरी गरेका हुन् ।

चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको आदेश पूर्ण पालना गर्न अनुरोध गरिएको छ । आदेशको अवज्ञा गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।