пинап казино кз

जनता समाजवादी पार्टी (जसपा) आफैमा एउटा समाजवादी केन्द्र भएको भन्दै अरु समाजवादी केन्द्रमा आबद्ध हुन जरुरी नभएको त्यस पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

विभिन्न कम्युनिस्ट पार्टीहरूलाई मिलेर एउटै समाजवादी केन्द्र निर्माण गर्ने बजारीया हल्ला चलिरहका बेला जसपा अध्यक्षले यस्तो टिप्पणी गरेपछि उनको यो प्रतिक्रियालाई भर्खरै पार्टीबाट हटाइएका नेता डा. बाबुराम भट्टराईप्रति लक्षित ठानिएको छ ।

भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष रहेका बेला उनले पटक–पटक समाजवादी केन्द्रको रटान लगाउने गरेका थिए । हाल जसपाबाट अलग भएका उनी पार्टी पुनर्गठनका नाउँमा जसपाकै झण्डा र ब्यानर प्रयोग गर्दै विभिन्न कार्यक्रममा देखिँदै आएका छन् ।

समाजवादी केन्द्र बारे अध्यक्ष यादव भन्छन्, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र स्थापना गर्न नै सक्दैन । गरे पनि त्यो सैद्धान्तिक रूपमा मिल्दैन । कम्युनिस्टहरू साम्यवादी हुन्छन्, समाजवादी हुनै सक्दैन ।’

अहिले चर्चामा रहेको समाजवादी केन्द्र निर्माणको लागि जसपाबाट कारबाहीमा परेका नेता भट्टराईको बढी सकृयता देखिएको छ ।

समाजवादी केन्द्रमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्व नेकपा एकता राष्ट्रिय अभियान र गठन हुन बाँकी भट्टराई नेतृत्वको पार्टी रहने अनुमान गरिएको छ ।

समाजवादी केन्द्रमा सहभागी हुने बारे यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच धेरै चरणमा छलफल भएको भनिए पनि यादव सो कुरालाई खण्डन गर्दै भन्छन् –‘जसपा नै समाजवादी पार्टी हो । उनीहरूले समाजवादको नाममा जनतालाई भ्रममा राखिरहेका छन् ।’