काठमाडौँ– काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो । निर्णयअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।

यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।

गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि निषेधाज्ञासम्बन्धी आदेश जारी गरिएको थियो भने आजदेखि कार्यान्वयनमा आएको हो। काठमाडौ, ललितपुर र भक्तपुरका सीडीओहरुले छुट्टाछुट्टै सूचना निकालेर निषेधाज्ञासम्बनधी आदेश जारी गरी गरेका हुन् ।

चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको आदेश पूर्ण पालना गर्न अनुरोध गरिएको छ । आदेशको अवज्ञा गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।