बारामा दुई सय केजी गाँजासहित दुई जना भारतीय पक्राउ

काठमाडौं, १४ वैशाख

बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नेपालको वैदेशिक व्यापार : अधिकतम् घाटा, थोरै मात्र नाफा ।

अनिल सिंह
काठमाडौं, १३

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ ।

वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय नेपालीले नामै नसुनेका देशहरु रहेका छन् ।

भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।

यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ ।

नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, युक्रेन, अष्ट्रेलिया, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्याण्ड, क्यानडा, दक्षिण कोरिया, भियतनाम, स्वीट्जरल्याण्ड, टर्की, साउदी अरेविया, पराग्वे, सिंगापुर, रुस र दक्षिण अफ्रिका रहेका छन् ।

जापान, नेदरल्याण्ड्स, फ्रान्स, ताइवानm इजिप्ट, हङकङ, कतार, म्यानमार, जर्मनी, बेलायत, मोजाम्बीक, बेल्जियम, इटाली, पोल्याण्ड, इजरायल, न्युजल्याण्ड, चेक रिपब्लिक, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, आयरल्याण्ड, पाकिस्तान, श्रीलंका, मेक्सिकोसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

यस्तै, कुवेत, अष्ट्रिया, स्लोभाकिया, तान्जानिया, ग्वाटेमाला, माल्डोभा, भेनेजुयला, ओमान, स्वीडेन, नर्वे, हंगेरी, फिनल्याण्ड, मलावी, चिली, नाइजेरिया, गाबोन, सुडान, युगाण्डा, केन्या, बुल्गेरिया, सर्विया, पोर्चुगल, लेबनान, रोमानिया, ग्रिस, मंगोलिया, लाइबेरिया, कजाकास्तान, कोस्टारिका, जोर्डन, स्लोभेनिया, स्वाजील्याण्ड, नामिबिया, लाटभिया, पेरु लगायतका देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालल मात्र १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

२३औं मनमोहन अधिकारी स्मृति दिवसमा ओली को टिप्पणी : कांग्रेसको घोषणापत्र बकवास र थानाम गालीको दस्तावेज ।

अनिल सिंह
काठमाडौं, १३ वैशाख

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे ।

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’

उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् ।  सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे ।

दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए ।
तात्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।

स्थानिय निर्वाचनका लागि आवश्यक मतपत्र छपाई अन्तिम चरणमा : निर्वाचन आयोग

अनिल सिंह

काठमाडौं, १२ वैशाख
६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो । स्थानिय निर्वाचनका निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।
निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरेको छ ।

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ ।

काठमांडौ महानगरपालिकामा एमालेवाट मेयरमा स्थापित र उपमेयरमा डंगोलले गरे उमेदवारी दर्ता

अनिल सिंह
काठमाडौं, १२ वैशाख

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो ।

घनश्याम भुसालको झन्डै ज्यान गयो :मनोनयन दर्ताका क्रममा सिन्धुपाल्चोकमा झडप हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

मनोनयन दर्ताका क्रममा सिन्धुपाल्चोकमा झडप हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

न्युज कारखाना

सिन्धुपाल्चोक, १२ वैशाख

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीको उम्मेदवारी दर्ताका क्रममा झडप भएको छ ।

टिकटको विषयको माओवादी पार्टी कार्यालयमा र मनोनयनका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा असन्तुष्ट माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्याँस प्रहार गरेको थियो । केही सेल अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आक्रोशित समूहले चौतारा सागाचोकगढी नगरपालिकाको कार्यालयका गेट, झ्याल, बार तथा कोठा तोडफोड गरेका छन् । सुरक्षा समितिको बैठक  अहिले बसिरहेको र मनोनयन दर्ताका विषयमा थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए ।