काठमाडौं, २३ वैशाख

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ । शुक्रबार बसेको प्रदेश १ फुटबल संघको भेलाबाट केन्द्रीय निर्वाचनका लागि मताधिकार पाउने १० जिल्लाको टुङ्गो लागेको हो ।

भेलाले संयुक्त प्रेस नोट निकाल्दै प्रदेश १ बाट उम्मेदवारी दिने उम्मेदवारको पक्षमा सर्वसम्मत रुपले एकजुट भई सामूहिक रुपमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रेस नोटमा नाम नखुलाइए पनि एन्फा आगामी ६ असारको चुनावका लागि पूर्वबाट हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ अध्यक्ष पदमा लड्ने तयारीमा छन् । हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा उनका प्रतिद्वन्द्वी हुनेछन् ।

यसका लागि धरान टेक्निकल सेन्टरमा भएको चुनावबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापाले मताधिकार प्राप्त गर्दा संखुवासभा भने मताधिकारबाट बाहिरियो ।

निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन् । ए डिभिजन लिगबाट १४, बी बाट ११ र सी बाट ९ क्लबले मताधिकार पाउनेछन् ।

यस्तै राष्ट्रिय लिगमा छनोट भएका चार क्लब सहित एन्फाको महिला, खेलाडी, रेफ्री र प्रशिक्षक संघले मताधिकार पाउनेछन् ।