हामी नेपाल डटकम । सप्तरीको खड्क नगरपालिका ३, मा रहेको श्री राष्ट्रिय प्राथमिक विधालय गरुराहामा विधालयका प्रअ सुखैर चौधरी, व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर चौधरी र केही स्थानीय बीचौलियाहरुको रोहबरमा भोजपुर जिल्लामा कार्यरत शिक्षक शोभाकान्त चौधरीसँग पैसा र भोज लिएर हाजिरी गराएको तस्बिर समाजिक संजालमा भाइरल भएको छ भने शनिबारको कान्तिपुर पत्रिकामा अवधेश झाले विस्तृत रिपोर्ट सहित समाचार सार्वजनिक गरेका छन् ।

स्थानीय एक आँपको बगैचामा लगभग तीन सयभन्दा बढी मानिसहरूलाई मासु चिउरा खुवाएर अन्तर जिल्ला सरुवाको लागि शिक्षकलाई विधालयबाट गोप्य रुपमा सिफारिस दिएर हाजिर गराएका थिए भने गाउँकै अरु शिक्षकले आफूहरूले पनि पैसा तिरेर आफ्नै गाउँको विधालयमा गाउँका बालबालिकाहरुलाई पढाउने सपना देखेर उक्त खाली ठाउँमा आउन प्रअसँग सहमति मागेका थिए । तर प्रअले विधालयमा विधार्थी कम रहेकोले कोटा कटौती भएको भनेर उनीहरुलाई पन्छाएर आफ्नो जात र पैसालाई गोप्य रुपमा सहमति दिएर यस्तो घृणित काम गरेको स्थानीय एकजनाले बताए । विधालयमा ९० प्रतिशत विधार्थी दलित समुदायको छ । तर विधालय व्यवस्थापन समितिको अध्यक्षमा दलितलाई कहिले हुन दिँदैन । केही महिना अगाडि नगरपालिकाको शिक्षा शाखाले लेनदेनको आधारमा भुवनेश्वर चौधरीलाई विधालय व्यवस्थापन समितिको अध्यक्षमा एक्कासी न्युक्तिपत्र दिएर पठाएको, जबकी त्यहाँ विवाद थियो उनले थपे ।

भोजमा उपस्थित एकजना स्थानीयले भन्छन्, बैठकमै शिक्षकले आफूले विद्यालयलाई डेढ लाख रूपैयाँ दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रुपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । तर प्रअ र अध्यक्षले गोप्य रुपमा लिएको पैसा केही स्थानीयले थाहा पाएपछि विधालयमा पंचायत समेत राखेका थिए । पंचायतमा शिक्षकले आफूले डेढलाख पैसा दिएको स्वीकार गरेका थिए । त्यसपछि कुरा लम्केको थियो । शिक्षकले आफू ठाउँ – ठाउँमा पैसा दिएर यहाँ आएको र थप पैसा दिन असमर्थ रहेको जनाएपछि त्यो दिनको बैठक स्थगित भएको थियो । धेरै दिनपछि शिक्षकले केही थप पैसा र गाउँलेलाई भोज खुवाउने गच्छेका थिए । तर त्यो भोजमा भने सबै गाउँलेलाई थाहा थिएन ।

यसरी भएको थियो भोज :
आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो । न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ ।

शोभाकान्त चौधरी पूर्वी पहाड भोजपुरको एक प्राथमिक विद्यालयमा पढाउँथे । गृहजिल्ला सप्तरी सरुवा हुन उनी एक वर्षयता भने ‘हात धोएर’ लागिपरेका थिए । उनले सबैजसो शक्ति लगाए पनि विद्यालय र पालिकाको सहमति पाउन नसक्दा सफल हुन सकिरहेका थिएनन् । अचानक उनले खडग–३ को गरुराहास्थित राष्ट्रिय प्राविमा एउटा दरबन्दी खाली रहेको खबर सुने । तर उक्त दरबन्दीमा आउन अरू तीन जना लबिइङ गरिरहेका रहेछन् । उनीहरूले विद्यालयका प्रधानाध्यापकदेखि वडाध्यक्षसम्मलाई भनसुन गर्न भ्याइसकेका थिए ।
उक्त विद्यालयमा करिब ९० प्रतिशत दलित र बाँकी थारू समुदायका बालबालिका पढ्छन् । गाउँकै शिक्षक आउन चाहँदा प्रधानाध्यापक सुखैर चौधरीले सुरुमा विद्यार्थी कम भएकाले शिक्षक दरबन्दी कटौती भएको बताउँदै आएका थिए । स्रोतका अनुसार शोभाकान्तसहित चार शिक्षकले सरुवा भएर आउने चाहना राखेपछि प्रअ सुखैर पनि मोलमोलाइमा लागे । शोभाकान्त त चार महिनायता नै प्रयासरत थिए । अरू प्रतिस्पर्धी आइलागेपछि उनीबारे निर्णय हुन सकेको थिएन । ‘डेढ लाख रुपैयाँ बुझाए मात्र सहमति दिने प्रअबाट प्रस्ताव आएपछि उनी सहमत भए र उक्त रकम दिए,’ स्रोतले भन्यो । अन्य तीन जनालाई रोक्दै प्रअले शोभाकान्तलाई साउन १ देखि विद्यालयमा हाजिर हुन सहमति दिएका हुन् ।

विद्यालयले सहमति दिए पनि पालिकाबाट अनुमति लिनुपर्ने बाध्यता शिक्षक शोभाकान्तसामु आइलाग्यो । नगरपालिकामा पनि उनी लबिइङका लागि लामो समय धाइरहे । आर्थिक कारोबार मिलाएपछि नगरपालिकाले उनलाई साउन २७ गते सहमति दिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निरज देवले भने कुनै आर्थिक चलखेल नभएको दाबी गरे । ‘नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट सहमति लिएको २७ दिनपछि आर्थिक लाभ लिएर उनलाई विद्यालयमा हाजिर हुन सहमति दिएको हो,’ स्रोतले भन्यो । पालिकाबाट समेत सहमति लिइसकेपछि शोभाकान्तले शिक्षा समन्वय इकाइ सप्तरीमा पनि ‘घूस खुवाएको’ स्थानीयको दाबी छ ।

शिक्षक शोभाकान्त भदौ १ गते विद्यालयमा हाजिर भएपछि स्थानीयले विरोध जनाए । दरबन्दी नै नभएको ठाउँमा कसरी हाजिर गराइयो भनेर उनीहरूले प्रश्न उठाए । त्यसपछि विद्यालय प्रशासनले स्थानीय बासिन्दासमेतलाई सहभागी गराएर बैठक राख्यो । ‘बैठकमै शोभाकान्तले आफूले विद्यालयलाई डेढ लाख दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रूपमा काम गर्ने वातावरण मिलाइदिन हामीसँग आग्रह गरेका थिए,’ एक स्थानीयले भने । उनका अनुसार विद्यालय प्रशासनलाई किन घूस दिएको भन्दै स्थानीयले बैठकमै विरोध गरेका थिए । स्थानीयको आक्रोश मत्थर पार्न प्रअ सुखैरले शिक्षक शोभाकान्तको हाजिर सुरु भइसकेको भन्दै कामकाज गर्न दिन आग्रह गरे । यसबापत शोभाकान्तले स्थानीयलाई भोज खुवाउनुपर्ने सहमति त्यहीं बन्यो ।

यही सहमतिअनुसार सोमबार साँझ आँप बगैंचामा भोज गरिएको हो । भोजमा गरुराहाका सबैजसो उमेरका ३ सयभन्दा धेरै स्थानीय सहभागी थिए । ‘कुखुराको मासु, चिउरा, भुजा खायौं,’ भोजमा सहभागी एक स्थानीयले भने, ‘हेडसर र पालिकाका सरले नगद खाए, हामीले भोज पनि खान नपाउने ?’ आफूहरूले विरोध गर्दा पनि सुनुवाइ नभएपछि भोज खाने सर्तमा सहमति दिएको उनको भनाइ छ ।

प्रअ सुखैर चौधरीले शिक्षक शोभाकान्तलाई भदौ १ बाट हाजिर गराएको स्वीकार गरे पनि थप कुरा गर्न चाहेनन् । यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ सप्तरीमा बुझ्दा प्रमुख विजय मण्डल बिदामा रहेको र उनीसँगै कागजात रहेकाले केही बताउन नसकिने शाखा अधिकृत प्रकाश गुरुङले बताए ।