सप्तरी । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले नागरिकता नहुने दलितहरुलाई बिनासर्त एकमुष्ट नागरिकताको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको खड्क नगरपालिका ७, रजैया घाँती सामुदायिक भवनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै त्यस्तो भनिएको हो ।

सम्बोधनको क्रममा विद्रोहीले भने, दलित समुदाय यो देशको नागरिक हो भने नागरिकता विहीन भएर पुस्तौंदेखि किन मृत्युवरण गरिरहेका छन् ? थुप्रै दलित मुसहर बस्ती नागरिकता विहीन अवस्थामा छ । तर कसैले पनि दलित समस्या समाधान गर्न सकिरहेको छैन् । नागरिकता नपाउनेहरु नागरिकता पाउँछन् । तर, यहाँका रैथाने दलित समुदाय अनागरिक भएर पशुझै मृत्युवरण गरिरहेका छन् । त्यसैले अब नागरिकताको समस्या दलितलाई मात्र छ । दलितलाई मात्र विनासर्त एकमुष्ट नागरिकता दिए मुलुकको नागरिकता समस्या समाधान हुने बताए ।