बैशाख २७ । सप्तरीको सुरुंगा नगरपालिका ४, कनकपुरको दलित वस्तीमा मध्य राति भोट माग्न पुगेका प्रदेश सांसद गोविन्द न्यौपाने लखेटिएका छन् ।

एमाले फुटेपछि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एस कलम छापको उमेदवारलाई जिताउन न्यौपाने दलित वस्तीमा पुगेका थिए । गाउँमा पुगेपछि स्थानीयहरुले आफूहरूले न्यौपानेलाई पटकपटक भोट दिदै आएको तर आफूहरूलाई आपत विपत परेको समयमा कुनै साथ सहयोग नपाएकोले यसपटक आफ्नो भोट आफ्नै उमेदवारलाई दिने भनेपछि स्थिति चर्काचर्कीमा पुगेका थिए ।

´छोरीको क्यान्सर पीडितबाट मृत्यु भयो । छोरी जोगाउन अस्पतालहरुमा पैरवी गरिदिनुस् भनेर सांसदज्यूको दैलो धेरै चहाडे तर कुनै उपाय चलेन` कमल रामले भने ।´बुवाकै पालादेखि हाम्रो वस्ती सांसद ज्युको गोरहा खेत थियो । जे भन्थे त्यो चलथ्यो । दलित वस्तीमा विभिन्न समस्या परिरहन्छ । कुनै समाधान छैन् । साथ सहयोग छैन् । मेरै घरमा आग्जनी भयो । कसैले सहयोग गरेन । मैले सांसद ज्यूसँग त्यही प्रश्न गरे । कुनै जवाफ पाएन ।` रामलोचन रामले भने ।

मौन अवधिको समयमा न्यौपाने र उसको उमेदवारसँग स्थानीयहरुले मध्य रातमा प्रश्न उतोर चुलिएपछि गाउँभरीका मानिसहरू भेला हुन पुगेका थिए । भोट लिन आउनेबेला मात्र आउने र अरु समयमा हराउने सांसदले जवाफ दिन नसकेपछि कोलाहल मच्चेको थियो । प्रहरीको गाडी आएपछि सांसद साइड लागेका थिए । वडा ४ सांसदको गाउँ हो ।