काठमाडौं, २६ वैशाख

जिम्बाब्बे ‘ए’ले एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी श्रृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्बे ‘ए’ले ३२ ओभर १ बलमा  सबै विकेट गुमाएर २१३ को योगफल तयार गर्यो ।

जिम्बाब्बे ‘ए’का लागि ओपनर टाडिवान्से मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए ।

यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।

जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए । जिम्बाब्बे ‘ए’का भिक्टोर न्याउची शून्यमा अविजित रहे ।

बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै श्रृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल श्रृंखला घरमै राख्न चाहन्छ । यता, जिम्बाब्बे भने शृंखला जिँत्दै भ्रमण सुखमय बनाउन चाहन्छ ।