राजेश विद्रोही

घटना—१
सप्तरी सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवती ज्योति पासवानले घरमा झुन्डिएर आत्महत्या गरिन्। उनले स्थानीय मधेसी बाहुन युवक कृष्ण मिश्रासँग भागी विवाह गरिन्। चार महिना उनीहरू सँगै बसेका थिए। जातकै कारण युवक पक्षको परिवारले उनीहरूको प्रेम–सम्बन्धलाई स्वीकारेको थिएन। एक दिन युवकले उनलाई कोठा खोज्ने बहानामा होटेलमा छोडेर भागे। त्यसपछि युवती माइतीमा बस्दै आएकी थिइन् । जात नमिलेकै कारण उनी बिछोडको तनावमा परेर आत्महत्या गरिन् ।

घटना—२
सिरहाको लहान नगरपालिका–२२ बर्छवाका २२ वर्षीय राजु विश्वकर्मा (नाम परिवर्तन) ले स्थानीय २१ वर्षीया माया यादवसँग (नाम परिवर्तन) भागी विवाह गरे। दुईबीच स्कुलदेखि प्रेमसम्बन्ध थियो। राजु र मायाले प्रेमलाई भागेरै पूर्णता दिए। यतिसम्म कि उनीहरूले उमेर पुगेको आधारमा जिल्ला प्रशासन कार्यालयमा गएर कानुनी रूपमा विवाह दर्तासमेत गरेका थिए। कोभिड–१९ को लकडाउन सुरु भएपछि युगल जोडी आफ्नो घर आइपुगेका थिए। केटीपक्षले उनीहरू आएको थाहा पाएपछि राति गुन्डागर्दी शैलीमा युवतीलाई खोसेर लगे। केटा कथित दलित कामीको छोरा र केटी यादवकी छोरी। केटी पक्षले केटीलाई दबाबमा पारेर अदालती प्रक्रियाबाट सम्बन्ध–बिच्छेद गराए।

घटना—३
घटना अलि मार्मिक छ। अर्घाखाँची शीतगंगा नगरपालिका–२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार कोठामा झुन्डिएर आत्महत्या गरिन्। त्यसअघि उनले सुसाइड नोट लेखेकी थिइन्। नेपाली सेनामा कार्यगत २३ वर्षे युवक सुमन क्षेत्रीसँग दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। सिर्जनाको पेटमा प्रेमको निशानी ८ महिनाको गर्भ थियो। युवतीले विवाह गर्न अनुरोध गरिन्। तर, जातको बहाना बनाएर सुमन पन्छिन खोजे। युवतीले प्रहरीमा उजुरी दिन्छु भनेपछि युवक सम्पर्कमा आए। त्यही दिन उनीहरूको झगडा भयो। युवकले उनलाई अस्पताल भर्ना गरेर गर्भ तुहाइदिए। सिर्जनाले प्रहरीमा उजुरी दिइन्। विवाह गर्ने सहमतिमा मिलापत्र भयो। विवाह पनि भयो। बुटवलमा कोठा भाडामै राखे। युवती कक्षा १२ पास गरेर जापान जाने तयारीमा बुटवल झरेकी थिइन्।

२१औं शताब्दीमा नेपाली समाजमा आजसम्म जातकै कारणले यस्ता थुप्रै घटना भएका छन्। जातको पर्खाल लगाइदिएर घरपरिवार र समाजबाट कैयौं युवायुवतीको प्रेमसम्बन्ध असफल पारिँदै आएको छ। जबर्जस्ती छुटाएर बिछोडमा रूपान्तरण गरिन्छ। त्यति मात्रै होइन, ज्यानै लिने हिंसामा ती पवित्र प्रेमसम्बन्धहरू बदलिरहेका छन्। लोकतान्त्रिक र वैज्ञानिक युगमा समाजलाई कलंकित बनाउने यस्ता व्यवहार किन भइरहेका छन् ? प्रेमसम्बन्धसँग यतिसम्मको खेलवाड किन हुन्छ ? कथित दलितको छोरा छोरी गैरदलित केटाकेटीसँग प्रेमविवाह गर्दा समाजले किन स्वीकार्दैन ? प्रेम चल्छ, जात चल्दैन, मन मिल्छ, जात मिल्दैन। उनीहरूका लागि देशमा कहिले आउँछ लोकतन्त्र ?

अझैसम्म पनि अछूतकै नजरले हेरिन्छ। अहिलेको लोकतान्त्रिक वैज्ञानिक युगमा पनि मान्छे, मान्छेबाटै अछूत छन्। यसले समाजको ठुलो समूहलाई नारकीय जीवन भोग्न बाध्य बनाइरहेको छ। मुलुक छुवाछूतमुक्त राष्ट्रको घोषणा भएको वर्षौं बित्यो। तर त्यो प्रभावकारी कार्यान्वयन पक्ष निकै कमजोर देखिन्छ। लक्षित वर्गले स्वतन्त्र समाजको अनुभूति गर्न पाएको छैन। खासगरी राज्यपक्ष र सरकारी अधिकारीहरू जातीय विभेद र न्यायका सन्दर्भमा मूकदर्शक रहँदै आएका छन्। यसविरुद्धमा लाग्यो भने आफैं फसिन्छ कि, आफ्नो भाग नै खोसिन्छ कि भनेर मौनतामा बसेका छन्।

कमजोर वर्ग जातीय विभेदको जाँतोमा हजारौं वर्षदेखि पिल्सिँदै आएका छन्। राजनीतिक नेतृत्वहरू ठूला भाषणमा मात्र रमाएका छन्। केवल भोट बैंकको प्रयोगवादी राजनीतिमा फस्दै आएका छन्। विभेद र उत्पीडन नभोग्नेलाई पीडाको महसुस कसरी हुन्छ ? जसलाई अहिलेको व्यवस्थाको खाँचो छैन, उनीहरूले यो व्यवस्थाको ड्राइभर छन्। अनि कसरी सामाजिक विकृति, विसंगति र कुरीतिको अन्त्य हुन्छ ? यसरी समाजको आमूल परिवर्तन कसरी सम्भव छ ? रैथाने मूलवासी शिल्पी (कथित दलित) हरूले पाइलापाइलामा विभेदको प्रहार खेपिरहेका छन्। राम्रोसँग घरव्यवहार चलेको परिवारहरूमा पनि जातीय विभेदको तनाव उस्तै छ। जात व्यवस्थाले मानिसको मनोविज्ञानमा यति धेरै असर गरेको छ कि यसको वर्णन गरिसाध्यै छैन। मुलुकमा लोकतन्त्र, गणतन्त्र आइसक्दा पनि जातीय विभेद अझै अन्त्य भएको छैन। जातकै कारण दिनहुँ अमानवीय घटना भइरहेका छन्। कयौं घटना सार्वजनिक हुन पाएका छैनन्। यसको भागिदार को ?

विभेदकारी वर्ग आफ्नो गलत तर्कले कमजोर समुदायलाई दबाइरहेको हुन्छ। व्यक्तिगत दोषमा समेत सामूहिकीकरण हुन थालेको छ। कानुन हातमा लिने प्रवृत्ति बढेको छ। पीडितले उल्टै पीडकसँगै माफी माग्नुपर्ने अवस्था छ। यो कानुनी राज्यको असफलताको संकेत हो। पीडकभन्दा पीडितकै कुरा समाजमा नाजायज लाग्न थालेको छ। समाज परिवर्तनका लागि गम्भीर चिन्ताको विषय हो यो। खासगरी यसको मारमा सबैभन्दा धेरै दलित समुदाय र महिला पर्दै आएका छन्। महिलामा पनि कथित दलित महिला धेरै प्रताडित भइरहेका छन्।

कथित जात व्यवस्था कसले निर्माण गर्‍यो ? किन निर्माण गर्‍यो ? यसको अन्त्यका लागि के गर्नुपर्छ ? कसैको खोजीको विषय बन्न सकेको छैन। विभेदको जरो चारैतिर छ। सुरुमा जात र पछि पेसाका आधारमा जात निर्धारण संस्थागत रूपमै गरियो। उतिबेला शासकहरूले अर्कै हिसाबले गरेका थिए। तर यसले आजसम्म निरन्तरता पाएको छ। यसबीचमा धेरै जातीय विभेदको संक्रमणले देश पूरै दुर्गन्धित भएको छ। समग्र सोचमा परिवर्तन जरुरी छ। सत्य र समानताको खोजी हुनुपर्दछ। समाज परिवर्तनका ठूला बहस पनि हामी यही मुखले गर्ने गर्छौं।

मानव जीवनमा जन्म, विवाह र मृत्यु समाजका अनिवार्य जस्तै सर्त हुन्। तर हाम्रो समाज र कानुनले समेत यसमा बिनाचेतना फरक ढंगले अंकुश लगाएको छ। कर असुल्ने प्रवृत्ति बढेको छ। कमाइ खाने भाँडो बनाइएको छ। यसरी खनिएका खाडलहरू मानवअधिकार विरोधी कार्य हुन्। यस्ता प्रवृत्तिले मानवअधिकारको रक्षा गर्न सक्दैन। एउटा युवाले एउटी युवतीसँग र एउटी युवतीले एउटा युवासँग प्रेम गर्नु, मन पराउनु अपराध होइन। यसलाई उनीहरूले जीवनको अन्त्यसम्मको हतियार बनाउनु समाज परिवर्तनको ठूलो आधार हो। तर हामीले यसलाई पुरस्कृत गर्नुभन्दा पुरातनवादी चेतको हिसाबले दण्डित गरिरहेका छौं।

सामाजिक विकृति र विसंगतिको रूपमा यस किसिमका प्रेमलाई लिन्छौं। समाज र मानवताविरोधी संस्कारलाई ठूलो धर्मको रूपमा मानिरहेका छौं जुन सबैभन्दा ठूलो भ्रम हो। हामी विज्ञानका हरेक कुरालाई मान्न तयार छौं। २०६५÷०६६ सालमा अर्थमन्त्री डा. बाबुराम भट्टराईले दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए। दुई सय पाँच जना जोडीहरूले अनुदान पनि पाए। सरकारले दाइजो दिन थाल्यो र जातीय सम्प्रदाय भड्काउन थाल्यो भनेर दलित र गैरदलित समुदायभित्रका बिजातीय वर्गले अनावश्यक होडबाजी गरे। कार्यक्रम कार्यविधिमा कमजोरी र बजेट निकासीमा विभेद भएपछि यो कार्यक्रम ६ वर्षपछि बन्द भयो। यो प्रभावकारी कार्यक्रमलाई भ्रूणमै हत्या गर्ने दुस्साहस गरियो।

हिजोका दिनमा शिल्पी÷दलितहरूको शिल्पकौशल विज्ञानको जगमा बनेको वर्तमान सामग्रीहरू दैनिक जीवनमा उपयोग गर्छौ। त्यही ज्ञानविज्ञान जीवनमा प्रवेश गर्छन्। तर हामी त्यसलाई निषेध गर्नतिर लाग्छौं। त्यति मात्रै होइन, वर्तमान नेपाली समाजमा आम रैथाने शिल्पी÷दलित, शिल्पकौशल, संस्कृति, सम्पदा र सभ्यताका मूलआधारशीला पनि हुन्। यसलाई नेपाली राज्य, नेतृत्व, बौद्धिक जगत् र प्राज्ञिक क्षेत्रले पनि अन्देखा गर्दै आएको छ कथित दलितीकरण गरिएका जातिहरूको गौरवशाली र शक्तिशाली इतिहास हुँदाहुँदै पनि वर्तमानमा कमजोर र निरीह बनाइएका छन्। जसले मनोवैज्ञानिक रूपमा थप युवाको प्रेमलाई बहिस्कृत गरेको छ।

एक शब्दको ‘प्रेम’लाई जात व्यवस्थाले कलंकित बनाइरहेको छ। यसर्थ हामीले प्रेम तथा हरेक अन्तरजातीय विवाहलाई पुरस्कृतका साथै प्रोत्साहन गर्नु पर्दछ। हाम्रै जीवनकालमा विभेदरहित मानव समाजको निर्माण गर्न सक्छौं। सक्छौं भने अझै पनि हाम्रो समाजमा प्रेम चल्छ जात चल्दैन। माया मिल्छ जात मिल्दैन। किन ? सबैले आजै सोच बदलौं, समाज आफैं बदलिनेछ। के यसका लागि हामी तयार छौं ?