राजविराज २९ मंसिर । आमाको मृत्युपछि बिचल्ली जुम्ल्याहा बच्चाको अबस्था नाजुक देखेर सप्तरी खड्क नगरपालिकाका मेयर हेमायु हक २५ हजार बराबरको विभिन्न खाद्य सामग्री तथा लुगाफाटा हस्तान्तरण गरेका छन् । बच्चा र कम्जोर परिवारलाई थप सहयोग गर्दै जाने प्रतिबद्धता मेयरले गरेका छन् । बच्चालाई काँखमा खेलाउँदै उनी एकछिन भावुक पनि भएका थिए । उनले भने, यो अबोध बच्चाहरुको दु:ख हाम्रो नगरपालिकाको दु:ख हो । हामीले सकेको सहयोग गर्दै जान्छौं । गरिबीले बच्चालाई दुधको व्यवस्था समेत गर्न र सेहार्नमा कठिन भएको खबर मेयरलाई पुगेपछि उनी राहत लिएर पुगेका थिए ।

सप्तरीमा खडक नगरपालिका ३, गरुराहाकी ३३ वर्षीया अनिता कुमारी रामको गत शुक्रवार मृत्यु भएको थियो । गर्भास्थामा अनिताले नियमित चेकजाँच गराउँदै आएका थिए । सोही क्रममा चिकित्सकले जुम्ल्याहा बच्चा रहेको जानकारी गराएका थिए । भदौ १७ गते राति अचानक पेट दुखेपछि अनितालाई रातारात एम्बुलेन्समा धरान अस्पताल पुर्याइएका थिए ।

चिकित्सककै सल्लाहअनुसार अनितालाई २५ दिनसम्म अस्पतालमै राखियो । असोज १० गते अप्रेसन गरेर अनिताले सकुशल बच्चा जन्माएकी थिइन् । अप्रेसनपछि अनितलाई थप १ महिना अस्पतालमै राखेका थिए । बच्चा र आमाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि अनितलाई अस्पतालबाट डिस्चार्ज गरियो । उनी एक महिनासम्म घरमै बस्दै आएकी थिइन् । सोही क्रममा शुक्रवार राति अनिता एकासी ढलिन । एम्बुलेन्समा अस्पताल लग्दै गर्दा अनिताको बाटोमै मृत्यु भएको अनिताका पति घुरन रामले बताए ।