विराटनगर १८ मंसिर । राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालको ५१ सदस्यीय मोरंग जिल्ला अभियान टोली गठन भएको छ । विराटनगर १२ मा रहेको लेखनाथ वाचनालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानको पूर्वी संयोजक राजेश विद्रोहीले सम्बोधन गरेका थिए । सयौंको संख्यामा उपस्थित दलितभित्र रहेका विभिन्न समुदायका अगुवा नेता कार्यकर्ताहरुलाई विद्रोहीले जागरण अभियानको बारेमा दुई घण्टा प्रशिक्षण दिएका थिए ।

पदाधिकारीको लागि विवाद हुँदा पदाधिकारी अर्को शनिबार चयन गर्नेगरी ५१ सदस्यीय जिल्ला अभियान टोली मात्र गठन गरिएको छ । विवादकै कारण पदाअधिकारीको टुंगो नलागेको कार्यक्रममा सहभागी जितेन्द्र मेस्तरले जानकारी दिनुभयो । बैठक अर्को शनिबारको लागि स्थगित गरिएको छ । अर्को शनिबार पदाअधिकारीहरुको टुंगो लाग्ने अभियनता दुर्गानन्द दासले बताए । जागरण अभियानको प्रशिक्षणबाट दलित समुदाय निकै प्रभावित भयो । जसले गर्दा जिम्मेवारी लिन ठूलो हानथाप भयो । सबैलाई समेट्ने गरी अर्को शनिबारको लागि पदाधिकारी चयन गर्ने गरी बैठक स्थगित भएको छ । बैठक पुनः बोलाउन पाँच सदस्यीय टोली गठन भएको कुरा अभियानता राजु ऋषिदेवले बताए ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालको राजेश विद्रोही र खगेन्द्र सुनार दुईजना केन्द्रीय संयोजक छ । खगेन्द्र सुनारले पूर्वी कमाण्ड समालेकाछन् भने विद्रोहीले पूर्वी कमाण्ड समालेका छन् । फाल्गुन १ गते सप्तरीको राजविराज र दैलेखबाट एकैसाथ उदघोष भएको यो अभियान एक वर्षदेखि नेपालगन्ज, सल्यान, दांग, जनकपुर, काठमाडौं, सप्तरी लगायतका विभिन्न ठाउँमा जागरण कार्यक्रमहरु गर्दै आएका छन् ।