बुधबार, ०३ कार्तिक २०७८ । कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सप्तरी पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवको कार्यक्रममा एक दलित युवाले आफ्नो कुरा राख्ने क्रममा उपेन्द्र यादवलाई ठग र लुटेरा भनेपछि जसपा यादव समूहका नेताकार्यकर्ताले ती दलित युवकलाई दुर्ववहार गरेपछि कार्यक्रममा अधिक संख्यामा उपस्थित दलित समुदायले कार्यक्रम बहिस्कार गरेका छन् ।

युवकले आफ्नो कुरा राख्ने बेलामा उपेन्द्र यादवलाई ठग लुटेरा भनेर दुर्ववहार गरेपछि ती दलित युवकलाई उनीहरूले पनि दलित भन्दै दुर्ववहार गरेका थिए । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा कात्तिक १ गते आयोजित कार्यक्रममा यो झमेला भएको हो ।

कार्यक्रममा उपस्थित अध्यक्ष यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य मनिष सुमन लगायतलाई समेत स्थानीयहरुले केन्द्रमा समावेशीको नाटक गरेर मधेसमा यादव र जमिनदारहरुलाई उपेन्द्र यादवले संरक्षण गरेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा दुर्ववहार भोगेका दलित युवा रमेश सदाले भने, आफूलाई बोल्न दियो । मलाई मनमा लागेको कुरा बोले । तर, उनीहरूले मेरो हातबाट माइक खोसेर दुर्ववहार गरेकोले कार्यक्रम बहिष्कार गरेको बताए ।