विक्रम महरा, सिरहा, १८ भदौ । सिरहासँग जोडीएको भारतीय विहारको जयनगरबजार नजिकै एक दलित युवकलाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । मृतक सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका गाउँका ४० वर्षिय दुखरण महरा रहेको प्रहरीले जनाएको छ ।

महराको धारीलो हतियारले घाँटी रेटिएको छ भने शरिरको विभिन्न भागमा चोट पटक देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार, महराको शव जयनगरकै एक अस्पतालमा रहेको बताइएको छ । महरा हिजो दिउँसो किस्तामा पैसा उठाएर मोटरसाइकल किन्न घरबाट गोलबजारतिर निस्केको उनको जेष्ठो छोरा विमल महराले बताए ।

विहान वेवारीसे अवस्थामा भेटिएको उनको पकेटको डायरीमा नेपाली फोन नम्बरको आधारमा उनी नेपाली भएको जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर जानकारी दिएका थिए । सोही आधारमा घर परिवारलाई जानकारी दिएको प्रहरीले बताएको छ । घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको श्रीमती, तीन छोरा र एक छोरी रहेको छ । प्रहरीकानुसार घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा गरि थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।