सप्तरी ८ श्रावण । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगर सम्मेलनबाट ´दलित जागरण युवा दस्ता` गठन भएको छ । सप्तरीको खड्क नगरपालिकामा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगर अधिवेशनबाट नगरको कमाण्डरमा राजकुमार मण्डललाई सर्वसम्मत निर्णयबाट चयन गरेको छ । २६ जनाको नगर स्तरीय दलित युथ फोर्सको मूल कमिटीमा ११ वटै वाडाका वाडा कमाण्डरहरु रह्ने निर्णय भएको छ भने वाडा स्तरमा वाडा कमाण्डरको नेतृत्वमा छुट्टै कमिटी रह्ने जागरण अभियानका नगर सचिव चन्द्रनारायण रामले जानकारी दिनुभएको छ । उनले भने, ´यो युथ फोर्सलाई समाजिक संजालको दुनियाँमा हरेक ढंगले सुसज्जित गर्ने हो ।`

बिहीबार आयोजित नगर स्तरीय सम्मेलनमा हजारौंको संख्यामा उपस्थिति दलित समुदायले नगर परिक्रमा समेत गरेका थिए । दुईदिन सम्म चलेको बन्दसत्र कार्यक्रममा गंगा सदाको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको छ भने मण्डलको नेतृत्वमा २६ सदस्यीय दलित युथ फोर्स गठ भएको जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिनुभयो । उनले थपे, नेपालीमा दलित जागरण युवा दस्ता रहे पनि यसलाई दलित युथ फोर्सकै रुपमा सम्बोधन हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जागरण अभियानको पूर्वीसंयोजक राजेश विद्रोहीको पनि उपस्थिति थियो । उनले निर्वाचित सबै पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने युवा दस्तालाई छुट्टै भेला गरी प्रशिक्षण पनि दिएका थिए । यो अभियानको दुईजना केन्द्रीय संयोजक मध्ये पश्चिम संयोजक खगेन्द्र सुनार रहेका छन् । फाल्गुन १ गतेबाट पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट एकैसाथ हजारौं दलित समुदायको उपस्थितिमा उद्घोष भएको यो जागरण अभियानले नेपालगन्ज, काठमाडौं लगायतका ठाउँमा विभेद र अधिकार विरुद्धको सभा गरिसकेका छन् । यतिबेला यो अभियान ठूलो चर्चामा रहेका छन् ।