लहान, २ श्रावण । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको अंग रक्षकको रुपमा रहेको दलित युथ फोर्स खड्क ६, का संयोजक जीवछ पासवानले हामी हाम्रो दलित समुदायको मुक्तिका लागि आफै लड्ने बताएका छन् ।

सप्तरीको खड्क नगरपालिका ६, को जिम्मेवारी लिँदै उनले सम्बोधनको क्रममा भने, ´अहिलेसम्म अरुले हाम्रो मुक्ति र अधिकार दिन्छ भनेर कहिले यो राजनीतिक दल त कहिले त्यो एन्जियो आइएन्जियोको पछाडि लाग्यौं, त्यसैले हामीले न कुनै अधिकार पायौं । न त जातीय विभेदबाट नै मुक्ति पायौं । त्यसैले अब हाम्रो लागि हामी आफै लड्ने हो । कसैको भ्रमणमा नपरे हुन्छ । कसैले भ्रम नछरे हुन्छ ।` उनले थपे, ´यदि हाम्रो दलित समुदायमाथि कतै अन्य, अत्याचार र विभेद भयो भने हामीलाई सम्झिनुस्, हामी खबर पाउनासाथ सेवामा हाजिर हुनेछु । अन्यायका विरुद्ध बलिदान गर्नुपरे पनि तयार छु ।`