अर्जुनधारा– ११ सालबारीकी तुलसा लोहार एक वर्षअघि हल्दिबारी–६ का बलराम कट्टेलसँग एक वर्षअघि अन्तरजातीय विवाह गरिन् । दलित समुदायकी तुलसाले गत वर्ष १६ साउनमा प्रेमलाई विवाहमा परिणत गरिन् । तर, विवाह गरेको आठ महिनामै श्रीमान बलराले तुलसालाई छाडे । कारण– तुलसा कथित सानो जातकी थिइन् ।

विवाह गर्ने बित्तिकै बलरामले तुलसालाई हल्दिबारीस्थित आफ्नो घर लगेका थिए । आठ दिनसम्म घरमा राखे । परिवारले दलित भनेर थाहा पाएपछि गाउँले भेला गरेर तुलसा र बलरामलाई घरबाट लखेटे । ‘मैले त बलरामलाई म विश्वकर्माकी छोरी हुँ भनेको थिएँ । उसले स्वीकार गर्छु भन्यो । तर, घरमा भनेको रहेनछ । थाहा पाएपछि साउन २४ गते राति उसको सानोबुवा विष्णु भट्टराईले खेदाउनुभयो । हामी राति नै भागेर बिर्तामोड आयौँ,’ उनी भन्छिन्, ‘कामीकी छोरी ल्याएको रहेछ् । एकछिन पनि मेरो घरमा नबस् भन्दै खेदाए । बलरामको घरमा आमा मात्र हुनुहुँदो रहेछ । सानोबुवाको घर नजिकै रहेछ । आमाले त बिहान पठाउनु राति यसो नगर्नु भन्नुभएको थियो । तर, अरूले दिएनन् ।’

दलितसँग विवाह गरेको थाहा पाएपछि उनीहरुलाई लेखेट्न ३०–३५ जना गाउँले आएको तुलसा बताउँछिन् । गाउँबाट लखेटिएपछि उनीहरु बिर्तामोडमा डेरा बस्न थाले । समय बित्दै गएपछि बलरामको रहस्य थाहा पाइन्, तुलसाले । उनले पहिल्यै विवाह गरेका रहेछन् । जेठी श्रीमती र छोरा भारतमा बस्दा रहेछन् । त्यसपछि बलरामले तुलसालाई फरक व्यवहार गर्न थाले ।

आठ महिना त सँगै बसे । तर, गत फागुनमा श्रीमान हराए । फोन अफ गरे । अहिलेसम्म उनी सम्पर्कमा छैनन् । आठ महिनाकी गर्भवती श्रीमती छाडेर फागुनमा हिँडेका बलराम अझै फर्किएनन् । ‘दिदी खसेको ९मृत्यु भएको ० र काममा जान्छु भनेर हिँडेका थिए । हिँडेपछि मोबाइल पनि अफ छ । पर्खेर एक हप्ता डेरामै बसेँ,’ उनी भन्छिन्, ‘एक पैसा थिएन । कति दिन त न खाई बसेँ । तर, नफर्किएपछि बुवालाई बोलाएर माइत फर्किएँ ।’

उनले बैशाखमा छोरा जन्माइन् । अहिले छोराको भविष्य अन्योलमा छ । बुवा हराइरहेकाले जन्मदर्ता पनि हुनसकेको छैन । बलरामसँग विवाह दर्ता पनि भएको छैन । तुलसाको नागरिकतासमेत बनाएको छैन । माइती पनि विपन्न छन् । पहाडबाट सुख खोज्दै तराई झरेको तुलसाको माइती सानो बाँसले बारेको झुप्रो बनाएर बसेको छ । बुवा पूर्णकुमार पुख्र्यौली पेशा आरान चलाएर बसेका छन् ।

आठ जनाको परिवार यही आरानबाट जसो तसो धानिएको छ । ‘दुःख बिराम पर्दा उपचार गर्ने पैसा त हुँदैन । यो पेशाले धन्न खान चाहिँ पुगेको छ,’ पूर्णबहादुर भन्छन्, ‘यही माथि छोरीको यस्तो विचल्ली भयो ।’ पूर्णबहादुरले छोरीलाई डेराबाट ल्याउँदा पनि ऋण गरेर ल्याए । ‘केही महिनादेखि कोठाको भाडा तिरेको रहेनछ । पसलमा पनि ऋण रहेछ । मैले पनि खोजेर तिरेर छोरी ल्याएँ,’ पूर्णबहादुर भन्छन्, ‘ज्वाई एकपटक घर आएका थिए । त्यो वेलै शंका लागेको थियो । दलित भएकै कारण उसले मेरो छोरीलाई छाडेको हो । कम्तीमा छोरीले न्याय पाउनुपर्छ भन्नेर लागेका छौँ । के गर्ने केही थाहा छैन ।’

बलराम हराएपछि पूर्णबहादुर आफैँ लागेर खोज्न लागे । खोजतलासका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन पनि दिए । ‘सुरुमा निवेदन लिन पनि मानेको थिएन । प्रहरीले वडामा गएर निवेदन लिएर आउनु भने । वडामा जाँदा यो मान्छे हामीले चिनेको सीधा छ भनेर दिनै मानेनन्,’ पूर्णबहादुर भन्छन्, ‘बल्लबल्ल प्रहरीले निवेदन दर्ता गरेको छ । तर, अहिलेसम्म खोजिगरिदिएको छैन ।’

इलाका प्रहरी कार्यालय अनारमनीले भने निवेदन लिएर खोजतलासको प्रक्रिया अघि बढाइएको जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बलरामको खोजीका गर्न हल्दिबारीका प्रहरीलाई घरसम्म पठाइएको बताए । ‘खोजतलासका लागि निवेदन लिएर सबैतिर हुलिया परिपत्र गरेको छ,’ उनले भने, ‘हल्दिबारीको घरमा समेत पुलिस पठायौँ । अहिलेसम्म घरमा आएको छैन भन्ने भयो । यसमा त हुलिया परिपत्र त गर्ने हो नि । अरू त के छ र ? ’ (नयाँ पत्रिकाबाट साभार )