राजेश विद्रोही 

तिम्रो दुःखमा म हाँसेको छु
तिम्रो आँशुलाई सिरानी बनाएर
तिम्रो प्रेमलाई व्यापार बनाएको छु
अनि ठूलाठूला महल ठड्याउने
सपना सजाएको छु
किनभने तिम्रो दुःखको मूल्य
यतिनै ठानेको छु
तिम्रो प्रेमको मूल्य त्यतिनै मानेको छु
भनेर बजारमा हल्ला छ
तिम्रो घरमा सल्लाह छ ।

तिम्रो निन्द्रा हराम पारेर
म आरामले निदाएको छु
तिम्रो मनमा बेचैनी र छट्पटी थपेर
सहरमा खुशीयाली मनाएको छु
हेर्दै जानुस् म केही दिनमै
हरामको सम्पत्ति कमाएर
सहरमा मार्वलको घर ठड्याउँदैछु
स्वीजरल्यान्ड पुगेर
अमेरिकामा त्यही विषयको विज्ञ बन्दै छु ।

चिन्ता न लिनुस्
सारा डिजाइन मेरै हो
म अमुक मान्छे
मुख दर्शक मात्र भएको छु
तिम्रो मुटुलाई कैदी बनाएर
तिम्रो स्वर्ग ध्वस्त पार्न खोज्दै छु
अहिले मलाई तानाशाह सम्झि दिनुस्
त्यसपछि मलाई अर्कै सम्झिनु हुनेछ ।

बजारमा मान्छे बिकेको सुनेको थिएँ
तर अचेल प्रेम पनि बिक्दो रहेछ
आस्था पनि कुल्चिदो रहेछ
कसैले बुहारी पाए
कसैले आफ्नो प्रेमी पाए
मैले उनकै शब्दमा न छोरी पाएँ
न पाएँ कुनै आस्था
विश्वासको अन्तिम मूल्य
कति हुँदोरहेछ ?
मैले भेटाएँ ।